काठमाडौं । बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले ३१ डिसेम्बरमा आफ्नो पद छोड्दै छन् । यो अवकाशको घोषणा बर्कशायरको वार्षिक सेयरधनीको बैठकमा गरिएको हो । सन् २०२६ जनवरी १ देखि कम्पनीका उपाध्यक्ष ग्रेग एबेलले बर्कशायरको कार्यभार सम्हाल्नेछन् ।
९५ वर्षीय बफेटले आफू नियमित रूपमा कार्यालय आउने र बोर्डका अध्यक्षको रूपमा कायम रहने बताएका छन् । तर, दैनिक कार्यसञ्चालनबाट उनको बिदाइ हुनु छ दशक लामो एउटा युगको अन्त्य हो । जसले अमेरिकी पुँजीवादलाई नयाँ रूप दियो र संघर्षरत एउटा टेक्सटाइल कम्पनीलाई विशाल वित्तीय साम्राज्यमा रूपान्तरण गर्यो ।
आज बर्कशायर अमेरिकाको नवौं सबैभन्दा मूल्यवान कम्पनी हो । यो देशको दोस्रो ठूलो प्रोपर्टी तथा दायित्व बीमा कम्पनीसमेत हो, जसको स्वामित्वमा करिब ७०० अर्ब डलर बराबरका कारोबारयोग्य सेयर, बन्ड र नगद छन् । दशकौंसम्म बर्कशायरले एसएन्डपी ५०० सूचकांकलाई निरन्तर पछाडि पारेको छ ।
यस अवधिमा बफेटले गीको र नेशनल इन्डेम्निटीजस्ता बीमा कम्पनीहरू, इस्कर मेटलवर्किङजस्ता उत्पादन कम्पनीहरू, डेरी क्वीनजस्ता खुद्रा ब्रान्ड, ठूला युटिलिटी कम्पनीहरू तथा अमेरिकाका सबैभन्दा ठूला रेलमार्गमध्ये एक बीएनएसएफसमेत अधिग्रहण गरे । उनले सयौं अर्ब डलर बराबरका सेयर खरिद–बिक्री गरे र अमेरिकन एक्सप्रेस, कोका–कोला र एप्पलजस्ता कम्पनीहरूमा दीर्घकालीन लगानीबाट ठूलो नाफा कमाए ।
वारेन बफेटलाई संसारकै महान् लगानीकर्तामध्ये एक मानिन्छ । उनले बर्कशायरलाई सानो टेक्सटाइल मिलबाट विशाल बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण गरे । सन् १९६२ मा उनले यो मिल प्रतिसेयर ७.६० डलरको दरमा किन्न सुरु गरेका थिए । आज बर्कशायरको एक सेयरको मूल्य ७ लाख ५० हजार डलरभन्दा बढी छ ।
बफेटको कुल सम्पत्तिमध्ये करिब १५० अर्ब डलर बराबरको हिस्सा बर्कशायरका सेयरमै रहेको छ । उनले पछिल्ला २० वर्षमा मात्र ६० अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् ।
उत्तराधिकारीका रूपमा ग्रेग एबेलमाथि सबैको नजर रहने जनाइएको छ । बफेटजस्तो स्टक पिकिङका लागि एबेल परिचित छैनन् । उनले वर्कशायरको ऊर्जा व्यवसायबाट उचाइ हासिल गरेका हुन् । यस्तो अवस्थामा बफेटका प्रमुख लगानी सहायकमध्ये एक टोड कम्ब्स जेपीमोर्गन चेसतर्फ जानु केही लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ।
एबेलले अब छिट्टै कठिन पूँजी बाँडफाँडसम्बन्धी निर्णय लिनुपर्नेछ । ब्याजदर घट्दै जाँदा बर्कशायरको ३८० अर्ब डलरको नगद भण्डारको अवसर लागत बढ्दै गएको छ । कम्पनीले सम्भवतः बीमा क्षेत्रमा अर्को ठूलो अधिग्रहण गर्न सक्छ, जहाँ बर्कशायरको चब्बमा पहिले नै ८ प्रतिशत हिस्सा रहेको छ ।
ग्रेग एबेलले बर्कशायरको दिशामा के परिवर्तन ल्याउँछन् भन्ने कुरामा लगानीकर्ताहरूले सूक्ष्म रूपमा नजर राख्नेछन् । तर, कुनै ठूलो उलटफेर हुने अपेक्षा गरिएको छैन ।
एबेलले सन् २०१८ देखि बर्कशायरका सबै गैरबीमा व्यवसायहरूको जिम्मेवारी सम्हाल्दै आएका छन् । बफेट बोर्डका अध्यक्षकै रूपमा रहनेछन् र हरेक दिन कार्यालय आउनेछन् । नयाँ लगानी अवसर पहिचान गर्न र एबेललाई सल्लाह दिन उनी सक्रिय रहनेछन् ।