काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को नयाँ नेतृत्वका लागि पुस २५ गते तय भएको निर्वाचन अन्यौलमा परेको छ । विधान मिचिएको र पुरानो सहमति तोडिएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ भने करण चौधरी पक्ष उच्च अदालत, पाटनको आदेश पर्खेर निर्धारित समयमै निर्वाचन गराउने अडानमा छ ।
नाडाका कोषाध्यक्ष मिलन मल्ल निर्वाचन निर्धारित समयमै हुने दावी गर्छन् । ‘अदालतबाट स्टिल अर्डर केही आएन भने निर्धारित समयमै हुन्छ,’ उनले भने ।
‘नाडाको ४७ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने सहमति भएको थियो । तर त्यसलाई तत्कालीन समयमा सीडीओ कार्यालयले कार्यान्वयन गरेन । यही कारण असन्तुष्ट पक्ष अदालत गयो,’ उनले थपे ।
मल्लले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचनको तालिकासहित साधारणसभा गर्न अनुमति दिएको बताए । अदालतले निर्वाचन रोक्न आदेश दिए निर्वाचन रोकिने नत्र नरोकिने उनको भनाइ छ ।
उनका अनुसार आगामी पुस २५ गते नै निर्वाचन हुने कुरामा वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको छ ।
नाडाले निर्वाचन तालिका सार्वजनिक गरिसकेको र निर्वाचन समितिमा (महासचिव, सचिव र कोषाध्यक्ष सम्मिलित) पनि गठन भइसकेको जानकारी दिएको छ । यसैबीच, नाडालाई महासंघमा लैजाने प्रस्ताव साधारण सभाबाट पारित भइसकेको छ । तर त्यसका लागि विभिन्न विधि र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सो काम नयाँ कार्यसमितिलाई जिम्मा दिइएको कोषाध्यक्ष मल्लले जानकारी दिए ।
यता नाडाका पूर्वअध्यक्ष ध्रुव थापा तथा नाडाका सदस्य आकाश गोल्छालगायत असन्तुष्ट पक्षले भने यस निर्वाचन विधानविपरीत र अवैधानिक भएको बताएको छ ।
नाडाले २५ गते तोकेको निर्वाचनमा उनीसहित उनको टिम (९ जना सदस्य) सहभागी नहुने उनको भनाइ छ।
‘यो वैधानिक नै छैन । विधान विपरीत चुनाव भइरहेको छ, विधान विपरीत साधारण सभा गरिएको छ । जसमा हामी पनि सहभागी छैनौं,’ थापाले भने ।
उनका अनुसार कुनै पनि संस्थामा साधारण सभा हुनुभन्दा १५ दिन अगाडि निर्वाचनको कार्यतालिका प्रकाशित गर्नुपर्ने विधानको स्पष्ट व्यवस्था छ । तर, नाडाको वर्तमान नेतृत्वले साधारण सभापछि मात्र निर्वाचनको सूचना निकालेको र यो सरासर विधानविपरीत भएको उनको भनाइ छ ।
पूर्वअध्यक्ष थापाले वर्तमान अध्यक्ष करण चौधरीमाथि ४७ औं साधारण सभामा भएको लिखित सहमति तोडेको आरोप पनि लगाए । त्यो सहमतिमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरी करण चौधरीलाई अध्यक्ष बनाउने र अर्को कार्यकालमा स्वतः आकाश गोल्छालाई अध्यक्ष बनाउने कुरा थियो । तर, चौधरीले आफू अध्यक्ष भएपछि आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षबाट हटाएको थापाको आरोप छ ।
‘सीडीयो कार्यालयले स्वीकृति नगरेको हुनाले हटायो भनेर बहाना बाजी गर्नुभयो । कार्यालयमा निवेदन नै लैजानु भएन,’ उनले भने ।
उनले आकाश गोल्छालाई हटाउने निर्णय विधानविपरीत भएको र कार्यसमितिले नभई साधारणसभाले मात्र हटाउन मिल्ने र त्यो पनि कार्यान्वयनपछि मात्र हटाउनुपर्ने तर्क गरे ।
असन्तुष्ट टिममा ध्रुव थापा (पूर्वअध्यक्ष), आकाश गोल्छा, सुनिल रिजाल, प्रदीप कुमार प्रधान, सन्जय खेतान, सौरभ थापा, यमुना श्रेष्ठ, निराकार श्रेष्ठ सोहन श्रेष्ठ गरी ९ जना कार्यसमिति सदस्य रहेका छन् ।
थापाले सुनिल रिजाललाई यसअघि नै कार्यसमितिबाट हटाइए पनि अदालतको आदेशबाट पुनःस्थापित भएको जानकारी दिए ।
पूर्वअध्यक्ष थापाले सीडीओ कार्यालयले साधारणसभा रोक्न आदेश दिँदादिँदै पनि जबरजस्ती गरिएको आरोप लगाए । उनले नाडाको वित्तीय व्यवस्थापनमा पनि अनियमितता भएको दाबी गरे ।
‘पहिला २ करोड रुपैयाँ टोटल वार्षिक खर्च थियो भने अहिले ३ करोड रुपैयाँ खर्च भएको छ. । अहिले ११ लाख रुपैयाँ मात्रै बचत भएको देख्या छ,’ उनले भने ।
थापाले वर्तमान अध्यक्षले आफ्नो होटलमा कार्यक्रम गराएर स्वार्थ बाझिने काम गरेको र यसरी विधानविपरीत गरिएको खर्चको जिम्मेवारी वर्तमान कार्यसमितिले लिनुपर्ने बताए । थापाको समूहले यसको छानबिनका लागि सीआईबी र फेरि अदालत जाने चेतावनी दिएको छ ।
थापाले सीडीओ कार्यालयले जारी गरेको पत्रलाई वर्तमान नेतृत्वले आफ्नो स्वार्थअनुकूल व्याख्या गरेको पनि आरोप लगाए ।
‘सीडीओ कार्यालयले हालको निर्वाचन प्रक्रिया स्थगित गरी नयाँ निर्वाचन तालिका सार्वजनिक गर्नुपर्छ । त्यसपछि मात्रै अर्को साधारणसभा आयोजना गर्न भनेको हो’, उनले भने ।
अदालतमा यसअघि आकाश गोल्छाले आफूलाई अवैधानिक तरिकाले वरिष्ठ उपाध्यक्षबाट हटाइएको भन्दै पुनःस्थापनाको मागसहित रिट दायर गरेका छन् ।
त्यसको सुनुवाइ भोलि १६ गतेका लागि तोकिएको छ ।
आकाश गोल्छाले भने,‘ सुनुवाइको मिति यसअघि हो, तर अदालतले भोलिलाई तोकेको छ ।’ ध्रुव थापाको समूहले पनि हालैको साधारणसभा र निर्वाचन प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालत जाने तयारी गरिरहेको छ ।
यससँगै नाडाको इतिहासमा पहिलो पटक पूर्वअध्यक्षहरू कसैले पनि साधारण सभामा भाग नलिएको र कोही नपाएर एक पूर्वमहासचिवलाई प्रमुख अतिथि बनाएको भन्दै थापाले वर्तमान नेतृत्वको सर्वस्वीकार्यतामाथि प्रश्नसमेत उठाए ।
उनले ३ हजार ३०० सदस्यमध्ये १ हजार ४०० ले मात्र सदस्यता नवीकरण गरेको र तीमध्ये पनि अधिकांश आफ्ना कर्मचारीहरू रहेको दाबी गर्दै निर्वाचनको वैधानिकतामाथि नै ठूलो प्रश्नचिन्ह खडा भएको बताए ।
अदालतले आकाश गोल्छाको रिटमाथि पुस १६ गते के निर्णय गर्छ त्यसले मात्र नाडाको निर्वाचन हुने नहुने वा पुनः नयाँ प्रक्रियामा जानुपर्ने भन्ने स्पष्ट हुनेछ ।
नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने
नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय
निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन