काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी आगामी निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन्।
उनले हालै सम्पन्न पार्टीको महाधिवेशनले एमालेको आन्तरिक प्रणालीमा महत्त्वपूर्ण फैसला गरिसकेको उल्लेख गर्दै अब निर्वाचनमार्फत राष्ट्रिय स्तरको फैसला दिन पार्टी पूर्ण रूपमा तयार रहेको धारणा व्यक्त गरेका हुन् ।
एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीको संगठनात्मक एकता सुदृढ बनाएको, नेतृत्व संरचना स्पष्ट पारेको र आगामी राजनीतिक यात्राका लागि ठोस दिशानिर्देश दिएको बताए ।
उनका अनुसार आन्तरिक निर्णय र संगठनात्मक तयारी पूरा भइसकेकाले अब जनतासमक्ष जाने र निर्वाचनमार्फत जनादेश लिने चरण सुरु भएको छ ।
ओलीले एमाले राजनीतिक स्थायित्व, विकास र सुशासनको एजेन्डासहित निर्वाचनमा जाने सन्देश दिँदै जनताले दिने निर्णयलाई सम्मान गर्ने बताए ।
‘महाधिवेशनले पार्टीभित्र आवश्यक फैसला गरिसकेको छ, अब देशका लागि आवश्यक फैसला जनताले निर्वाचनमार्फत लिने समय आएको छ,’ उनले भने ।
अध्यक्ष ओलीले मुलुक अहिले निर्णायक मोडमा रहेको उल्लेख गर्दै आगामी निर्वाचनले देशको राजनीतिक दिशा तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एमालेले सरकार सञ्चालनको अनुभव, संगठनात्मक क्षमता र स्पष्ट नीतिगत दृष्टिकोणका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो ।