ठूला दलबीच सहकार्य अपरिहार्य बन्दै गएको छ : उपाध्यक्ष थापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य सम्भव रहेको बताएका छन् । उनले दुवै दलले बराबरी सिट संख्या बाँडफाँड गरेर साझा रणनीतिका साथ निर्वाचनमा अघि बढ्न सक्ने धारणा व्यक्त गरेका हुन् ।

मंगलबार काठमाडौंमा मदन आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा ठूला दलबीच सहकार्य अपरिहार्य बन्दै गएको उल्लेख गरेका हुन् । 

उनले मुलुक राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र नीतिगत अन्यौलको अवस्थाबाट गुज्रिरहेको भन्दै यसबाट बाहिर निस्कन जिम्मेवार दलहरूले साझा समझदारी बनाउनु आवश्यक रहेको बताए ।

उपाध्यक्ष थापाका अनुसार कांग्रेस र एमाले जस्ता प्रमुख दलबीच सहकार्य भएमा सरकार सञ्चालन मात्र होइन, निर्वाचन व्यवस्थापन र भावी राजनीतिक स्थायित्वमा पनि सकारात्मक सन्देश जानेछ । 

‘दुवै दलले आ-आफ्नो अहंकार त्यागेर बराबरी हैसियतमा सहकार्य गर्न सके देशलाई स्थिरताको बाटोमा लैजान सकिन्छ,’ उनले भने ।

उपाध्यक्ष थापाले विगतमा विभिन्न राजनीतिक मोडमा दलहरूबीच भएका सहकार्यले महत्वपूर्ण परिणाम दिएको स्मरण गराउँदै अहिलेको अवस्थाले पनि त्यस्तै सहकार्यको माग गरिरहेको बताए ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र विकासका एजेन्डालाई अगाडि बढाउन ठूला दलबीच समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

Share News