काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा हाल वीर अस्पतालमा कार्यरत छन् । उनी यसअघि काउन्सिलका सदस्यसमेत थिए ।
मंगलबार सम्पन्न मतगणनामा डा. शेर्पाले ५ हजार २३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४ हजार ३५० मत पाए भने उपाध्यक्षका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १ हजार ८४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सदस्य पदमा सबैभन्दा बढी मत ल्याउँदै डा. छविलाल पन्थी निर्वाचित भएका छन् । उनले ४ हजार ८५७ मत प्राप्त गरे । अन्य निर्वाचित सदस्यहरूमा डा. सारिका गोइत (४ हजार ४७९), डा. दिपेन्द्र पाण्डे (४ हजार १५), डा. योविन कुमार यादव (३ हजार ६४८), डा. अस्मिता पोखरेल (३ हजार ४०४), डा. सम्राट पराजुली (३ हजार २८२), निना राई (३ हजार १११) र डा. रबिन बस्नेत (३ हजार ७२) रहेका छन् ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो। जसमध्ये उपत्यकामा ५ हजार ७६ र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेका थिए ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर पुस ४ र ५ गते तथा उपत्यकामा पुस ११ र १२ गते निर्वाचन भएको थियो । निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि चार वर्षको रहने व्यवस्था छ ।