काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ व्यवसायी अम्बिर बोगटी र पूर्वविद्यार्थी नेता हिमाल शर्मा सिफारिस भएका हुन् । पार्टीको अर्थ तथा योजना विभागको केन्द्रीय सदस्य रहेका बोगटीसँग बैंकिङ, पुँजी बजार, उद्योग लगायत आर्थिक क्षेत्रको अनुभव छ ।
बोगटी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष हुन् । साढे ३ दशकदेखि पोल्ट्री फीड उत्पादनको अनुभवी बोगटी इन्भेस्टमेन्ट, ट्रेडिङ कम्पनीहरूमा पनि संलग्न छन् ।
प्रतिनिधि सभा समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा सिफारिस भएका छन् । यस्तै, पार्टीले राष्ट्रिय सभा सदस्यका लागि धनलाल महर्जन सिफारिस गरेकाे जनाएको छ ।
पार्टीको आन्तरिक छलफल तथा संगठनात्मक सन्तुलनका आधारमा उम्मेदवार सिफारिस गरिएको बताइएको छ । सिफारिस भएका नेताहरूले जनताको विश्वास जित्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने अपेक्षा क्षेत्रीय कमिटीले गरेको छ ।