नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ र करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ । संस्थापक समूहसँग करिब ७१.४३ प्रतिशत सेयर कायम रहनेछ ।

नोबेल कलेज, फ्रन्टलाइन ब्राण्ड अन्तर्गत काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित छ । हालको अस्पतालको क्षमता १०० शैया रहेको छ र विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको नयाँ अस्पताल, जनरल र क्यान्सर रोगलाई मध्यनजर गर्दै बनाइने छ । कम्पनी अध्यक्ष नवराज पाण्डेका अनुसार यसका लागि थप पूँजी आवश्यक भएकाले आईपीओमा जाने निर्णय गरिएको हो ।

अस्पतालले स्नातक तहका विद्यार्थीका लागि नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ । 

सोमबार भएको सम्झौतामा नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Share News