एनभीडीयालाई उछिन्दै चाँदी बन्यो विश्वकै दोस्रो मूल्यवान सम्पत्ति

एक वर्षमै १८५ प्रतिशतको वृद्धि

काठमाडौं । चाँदीको मूल्यमा आएको तीव्र वृद्धि रोकिने कुनै संकेत देखिएको छैन । सोमबार (आज) अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ८ प्रतिशतले बढ्दै पहिलो पटक ८२ डलर प्रति औंस नाघेको छ । यससँगै चाँदीको कुल बजार पुँजीकरण (मार्केट क्याप) ४.८५ ट्रिलियन डलर पुगेको छ । 

विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको मार्केट क्याप ४.६३८ ट्रिलियन डलर रहेको छ । यसरी चाँदीले एनभीडीयालाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान सम्पत्ति (एसेट) को स्थान ओगट्यो । करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन पहिलो स्थानमा रहेको छ ।

यस वर्ष मात्रै चाँदीको मूल्यमा १८५ प्रतिशतको वृद्धि भइसकेको छ र यो सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ अग्रसर छ ।

किन बढ्यो चाँदीको मूल्य ?

अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् ।

ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ ।

अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ ।

विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ ।

यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ ।

बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ ।

५० प्रतिशत सुन नियन्त्रण गर्दै ब्रिक्स, विश्व वित्तीय संरचनामा नयाँ संकेत
 

Share News