काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमअनुसार क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि यो सहमति प्रदान गरिएको हो ।
उक्त रकम मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिनेछ ।
अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा पनि गरेको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद् बाट क्षतिग्रस्त सडक संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले सडक विभागलाई टेन्डर प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गर्नेछ ।
३९ जनाको मृत्यु र ठूलो भौतिक क्षति हुनेगरी भएको मनसुनजन्य विपद् घटनापछि सरकारले २३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।
२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर क्षति निरीक्षण गरेको थियो । टोलीले विपद् प्रभावित घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो ।
सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गत माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, माइखोला मोटरेवल स्थायी पुल बेलवासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माणका लागि ५/५ करोड र मेची करिडोरको वैकल्पिक सडकका लागि १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ ।
यस मध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल बेलवासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल निकासा गरिएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम पनि निकासा भएको छ ।