नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणलाई गर्‍यो सम्मान

काठमाडौं । जेनजी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनःस्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गोल्याणलाई सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले भदौ २३–२४ को ‘नवपुस्ताको आन्दोलनपश्चात’ को सन्दर्भमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानलाई सफल बनाउन गोल्याण ग्रुपले प्रहरी कार्यालयहरुको पुनः संभार र पुनःस्थापनामा २१ लाख १ हजार ३९५ रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ । अध्यक्ष गोल्याणले जनताको ज्यूधनको सुरक्षा र समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई संकटको बेला साथ दिनका लागि  सहयोग प्रदान गरिएको बताए ।

‘नेपाल प्रहरी जनताको हरपलको साथी हो भन्ने मान्यतालाई थप बलियो बनाउन गोल्याण ग्रुपले उहाँहरुसँग हातेमालो गरेको हो,’ उनले भने, ‘उच्च मनोबल बोकेको सबल र सक्षम प्रहरीले मात्र आफ्नो जिम्मेवारी सही रुपमा निर्वाह गर्न सक्दछ, यसका लागि प्रहरीका भौतिक संरचना पनि सुरक्षित र स्तरीय हुनुपर्दछ ।’ आमनागरिकको सुरक्षा र समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्ने सन्दर्भमा गोल्याण ग्रुपले आगामी दिनमा पनि नेपाल प्रहरीसँग हातेमालो गर्ने उनले बताए ।

काठमाडौं महानगरपालिका २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा महानगरका उपप्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षक ओमप्रसाद अधिकारी, माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालगायत सहभागी थिए ।

Share News