काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा नष्ट भएका सरकारी सवारीसाधन तथा अन्य सामग्रीलाई पत्रुमा लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।
सहरी विकास मन्त्रालयले सबै मन्त्रालय र सरकारी निकायहरूलाई जलेका सवारीसाधन र अन्य सामग्रीको विवरण संकलन गरी लिलामीका लागि सूची बुझाउन निर्देशन दिएको हो ।
मन्त्रालयमा गत साता बसेको सचिवस्तरीय बैठकले सम्बन्धित निकायहरूलाई मिनाहा प्रक्रिया पूरा गरी पत्रुमा लिलामी गर्न मिल्ने सवारीसाधन तथा सामानको विस्तृत सूची शहरी विकास मन्त्रालयमा पठाउन भनेको छ ।
सबै मन्त्रालयबाट सूची प्राप्त भएपछि लिलामी प्रक्रिया अघि बढाइने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए ।
उनका अनुसार सबै मन्त्रालयबाट विवरण आएपछि मात्रै यसको थप प्रक्रिया अगाडि बढाइने छ ।
प्रवक्ता मैनालीले भने, ‘हालसम्म कुनै पनि प्रक्रियागत काम अघि बढेको छैन । विवरण आएपछि मन्त्रालयमा यस विषयमा कसरी जाने, के गर्ने भन्ने बारेमा छलफल हुनेछ ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा जलेका सरकारी सवारीसाधन लिलामी गर्ने निर्णय गरेको थियो । आन्दोलनका क्रममा साढे १२ हजारभन्दा बढी निजी तथा सरकारी सवारीसाधन जलेका थिए । तीमध्ये सरकारी स्वामित्वमा रहेका सवारी साधनलाई मात्र लिलामी गर्न लागिएको हो ।
यद्यपि आन्दोलनमा जलेका सवारी साधनको तथ्यांक संकलन भइसके पनि सरकारले हालसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन । काठमाडौंमा जलेका अधिकांश सरकारी सवारीसाधन हाल नयाँबानेश्वरस्थित संसद भवनको पछाडिपट्टि थुपारिएको छ।
यस्तै, बैठकले हाल सञ्चालनमा रहेका तथा नयाँ खरिद गरिएका सवारीसाधन र सरकारी भवनको अनिवार्य बीमा गर्ने निर्णय पनि गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको मन्त्रालयले जनाएको छ ।