सात बुँदे घोषणापत्रसहित बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न

काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मूल नाराका साथ शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए ।

बागमती प्रदेशका २४ वटा लघुवित्त तथा सहकारी संस्थाका प्रतिनिधि र ३०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको सम्मेलन मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त तथा महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

सम्मेलनका विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरूले लघुवित्त क्षेत्रको वर्तमान अवस्था, यसको आवश्यकता, सामाजिक–आर्थिक योगदान तथा सुधारका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए । सम्मेलनले लघुवित्त कार्यक्रमलाई अझ सदस्य–मुखी, प्रभावकारी र दिगो बनाउने लक्ष्य लिएको आयोजकले जनाएका छन् ।

घोषणापत्रमार्फत सम्मेलनले युवा सदस्यलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सरोकारवालाहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्मेलनको समापन सत्रमा प्रमुख अतिथि पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष एवं लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

Share News