काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरूसँगको छलफल शुरु भएको छ । शनिबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल शुरु भएको हो ।
छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी र राजनीतिक वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै दलका नेताहरूलाई भेटेर छलफलको जानकारी गराएका थिए । गत पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतल निवासमा भएको छलफलको निरन्तरता स्वरूप आजको बैठक आयोजना गरिएको हो ।
उक्त बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न दलहरूबीच सहमति जुटाउने प्रयास हुने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा ठूला दलहरूको सहयोग र सहमति आवश्यक रहेको सरकारको भनाइ छ ।