कस्मेटिका एक्स्पो आजदेखि सुरु : सौन्दर्य, व्यक्तिगत हेरचाह र वेलनेस क्षेत्रका उत्पादन देखाइने

काठमाडौं । नेपालमा सौन्दर्य, व्यक्तिगत हेरचाह (पर्सनल केयर) र वेलनेस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले हाउस अफ राज कर्णिकारद्वारा आयोजित कस्मेटिका २०२५ एक्स्पो शुक्रबार (आज)देखि काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने यो एक्स्पो मंसिर १३ गतेसम्म जारी रहनेछ । 

एक्स्पोको उद्घाटनका अवसरमा हाउस अफ राज कर्णिकारका प्रबन्ध निर्देशक मीनुराज कर्णिकारले यो एक्स्पोको मुख्य उद्देश्य ब्युटि, पर्सनल केयर र वेलनेस क्षेत्रमा आइरहेका नयाँ उत्पादन, प्रविधि, सेवा र उपकरणहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्नु रहेको बताइन् । 

उनका अनुसार यो क्षेत्रका व्यावसायिकहरू र आम उपभोक्ताहरूलाई ज्ञान प्रदान गर्ने, उनीहरूको जिज्ञासा मेटाउने र निःशुल्क परामर्श सेवा उपलब्ध गराउने एक्स्पोको अर्को लक्ष्य हो । 

कर्णिकारले भनिन्, ‘हामीले यो कस्मेटिकालाई एउटा प्याकेजको रूपमा अफर गर्न खोजेका छौं । जहाँ कुनै पनि व्यक्ति जसले यो व्यवसाय सुरु गर्न चाहन्छन् वा पहिले नै स्थापित भइसकेका छन् । उनीहरूले कच्चा पदार्थ, प्याकेजिङ, सम्पूर्ण उपकरण, नयाँ प्रविधि, ट्रेन्ड र तयारी उत्पादनहरू एकै ठाउँमा पाउन सक्नेछन् ।’

कर्णिकारका अनुसार हाउस अफ राज कर्णिकारले सन् १९९० मा नेपालमा प्रदर्शनी आयोजनाको सुरुवात गरे पनि ब्युटी, पर्सनल केयर र वेलनेस सेक्टरको लागि आयोजना गरिएको यो पहिलो वृहत् एक्स्पो हो । यद्यपि कम्पनीले विभिन्न क्षेत्रका धेरै एक्स्पोहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । 

null

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी करिब ४० वटा स्टलहरू रहेका छन् । भारतबाट पनि थुप्रै कम्पनीहरूले सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरूमा रेब्लन, पियर कार्डिन जस्ता चर्चित नामहरू छन् भने नेपाली ब्रान्डहरूमा टुडर्मा, क्लिनिक्स ब्युटिलगायतका उत्पादनहरू प्रदर्शनमा राखिएका छन् । 

कच्चा पदार्थदेखि प्याकेजिङ, उपकरण, प्रविधि र तयार कस्मेटिक तथा पर्सनल केयर उत्पादनहरूका साथै ब्युटि एकेडेमीका सेवाहरू पनि उपलब्ध छन् । 

एक्स्पोको प्रमुख आकर्षण भनेको यहाँ आयोजना हुने विभिन्न वर्कसप, टक प्रोग्राम र लाइभ डेमोहरू हुन् । ब्युटि प्रोफेशनलहरू र आम उपभोक्ताहरूले यी कार्यक्रमहरूबाट नयाँ जानकारी सिक्न र आफ्नो ज्ञान अभिवृद्धि गर्न सक्नेछन् । छाला, कपाल, नङको हेरचाह लगायतका विषयमा विज्ञहरूबाट निःशुल्क परामर्श र एक्सपर्ट कन्सल्टेसनको व्यवस्था पनि मिलाइएको छ । 

आज चर्चित ब्युटि एक्सपर्ट सुनिता श्रेष्ठद्वारा लाइभ मेकअप डेमो आयोजना गरिएको छ । जहाँ सहभागीहरूले मेकअपका नवीनतम प्रविधिहरू प्रत्यक्ष रूपमा सिक्न सक्नेछन् । 

भोलि हल अफ फेम नामक कार्यक्रम पनि रहेको छ । जहाँ सौन्दर्य क्षेत्रमा विशेष योगदान पु¥याउने पाँच जना व्यक्तित्वहरूलाई सम्मान गरिनेछ । 

एक्स्पोमा प्रवेशका लागि कुनै शुल्क लाग्दैन । आगन्तुकहरूले हाउस अफ राज कनिकारको वेबसाइट वा सामाजिक सञ्जालमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन निःशुल्क दर्ता गर्न सक्नेछन् । 

यसले गर्दा बिजनेस भिजिटरहरूका लागि प्रि-प्रिन्टेड कार्डको व्यवस्था गरिएको छ । जसले प्रवेश प्रक्रियालाई सहज बनाउँछ । 

null

प्रबन्ध निर्देशक कनिकारले यस वर्षको एक्स्पोलाई एउटा सुरुवाती प्ल्याटफर्मको रूपमा हेरिएको र आगामी वर्ष यसलाई अझ ठूलो र विस्तृत स्वरूपमा आयोजना गर्ने योजना रहेको बताइन् । 

‘अर्को वर्ष डिसेम्बर १८ देखि २१ तारिखसम्म हामीले यो एक्स्पोलाई धेरै ठूलो रूपमा ल्याउने प्रयास गर्दैछौं, जसमा नेपालभरका र अन्तर्राष्ट्रिय स्टेकहोल्डरहरूको पनि जमघट होस् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन् ।

यस एक्स्पोलाई नेपाल कस्मेटिक व्यवसायी संघ र ब्युटी प्रोफेशनल्स एसोसिएसन नेपालले पनि सहयोग गरेका छन् । कनिकारले यो एक्स्पो नाफामुखी नभई यस क्षेत्रका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर फाइदा पुर्याउने उद्देश्यले आयोजना गरिएको बताइन् । 

Share News