निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि आउँदैन: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् । मोरङ उद्योग व्यापार सङ्घद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो-२०२५’ को उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि नआउने उल्लेख गरे । 

करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा प्रणाली स्थापना गर्ने कार्य अन्तर्गत आज मोरङको केराबारीमा सो कार्यालय स्थापना भएको उनले बताए । 

अर्थमन्त्री खनालले आयातमा देखिएका समस्या निराकरण गर्न सरकार तत्पर रहेको बताउँदै व्यवसायीलाई विश्वास गर्न सकेमा राजस्व वृद्धि हुने स्पष्ट पारे । 

उनले जेनजी आन्दोलनका क्रममा मुलुकमा ८४ अर्ब रुपैयाँको नोक्सानी भएकाले पुनः त्यस्तो घटना दोहरिन नदिन नागरिक सचेत हुनुपर्ने धारणा राखे ।

मन्त्री खनालले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने र यसमा शङ्का नगर्न आग्रह गरे । 

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व रहेको बताए । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यमशीलताको विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे । 

Share News