काठमाडौं । बिटकोइन क्रिप्टोकरेन्सीका लागि सन् २०२५ मिश्रित वर्ष रह्यो । यस वर्ष विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइनले ‘अल–टाइम हाई’ को रेकर्ड बनायो । तर यही वर्ष यसमा ठूलो गिरावट पनि देखियो ।
जानकारहरूका अनुसार सन् २०२५ मा बिटकोइनको इतिहासमै सबैभन्दा ठूलो ‘ह्वेल’ (ठूला लगानीकर्ता) बिक्री देखिएको छ । ठूला लगानीकर्ताहरूले एकै पटक ठूलो परिमाणमा बिटकोइन बिक्री गरेपछि बजारमा तीव्र दबाब सिर्जना भएको थियो, जसका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ ।
अनचेन विश्लेषक अली चार्ट्सले बताएअनुसार तथ्यांकले देखाउँछ कि पछिल्लो एक वर्षदेखि ठूला बिटकोइन लगानीकर्ताहरू लगातार बिक्री गर्दै आएका छन् ।
अली चार्ट्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै पछिल्ला १२ महिनामा ह्वेल अर्थात् ठूला लगानीकर्ताले १ लाख ६१ हजार २९४ बिटकोइन बेचेको जानकारी दिए । ती बिटकोइनको मूल्य करिब १५ अर्ब अमेरिकी डलर बराबर थियो । उनका अनुसार यस्तो अवस्था प्रायः बजारमा ठूलो गिरावट आउनु अघि वा गिरावटको क्रममा देखिन्छ, न कि मूल्य पहिले नै घटिसकेपछि ।
यस वर्ष बिटकोइनले धेरैपटक नयाँ उचाइ छोए पनि यसको चाल अस्थिर रह्यो । ठूला लगानीकर्ताको भारी बिक्रीका कारण पटक–पटक मूल्यमा अचानक ठूलो गिरावट देखियो । हाल बिटकोइन ८७ हजार अमेरिकी डलरभन्दा तल कारोबार भइरहेको छ । तर बजारमा फेरि बिक्रीको दबाब बढेसँगै लगानीकर्ताको भरोसा कमजोर बनेको छ ।
सबै ठूला लगानीकर्ताले भने बिटकोइन बिक्री गरिरहेका छैनन् । मध्यम आकारका लगानीकर्ता भने वर्षभरि नै शुद्ध खरिदकर्ता बनेका छन् । यस्ता मध्यम आकारका लगानीकर्तालाई ‘शार्क’ भनिन्छ । शार्क भनेका १०० देखि १ हजार बिटकोइन राख्ने लगानीकर्ता हुन् । शार्कहरूको खरिदले ह्वेलहरूको बिक्री दबाबलाई केही हदसम्म कम गर्न मद्दत गरेको छ । यसका कारण बजारको प्रभाव बिस्तारै पुराना ‘ह्वेल’बाट हटेर व्यापक सहभागीहरूतर्फ सर्दै गएको जनाइएको छ ।
सन् २०२५ मा ह्वेल अर्थात् ठूला लगानीकर्ताले जसरी बिटकोइन बिक्री गरेका छन्, त्यसअनुसार सन् २०२६ का संकेत सकारात्मक देखिँदैनन् । २०२५ मा भएको बिक्रीले बिटकोइनको तीव्र प्रवृत्तिलाई कमजोर बनाएको छ । यदि यही क्रम २०२६ सम्म पनि जारी रह्यो भने विश्लेषकहरूका अनुसार बिटकोइनका लागि दिगो पुनरुत्थान हासिल गर्न कठिन हुन सक्छ । अर्थात् बिटकोइन क्रिप्टोकरेन्सीमा गिरावटको अवस्था कायम रहन सक्छ ।