एलपी ग्यास उद्योग संघले दियो एफएनसीसीआई निर्वाचनका लागि शिवप्रसाद घिमिरेलाई समर्थन

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव समारोह बुधबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधारका कामहरू अगाडि बढिरहेको जानकारी दिए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले समारोहमा ग्यास उद्योगले सामना गर्दै आएका व्यवहारिक समस्या र चुनौतीहरूबारे स्पष्ट धारणा राखे । साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा संघको तर्फबाट निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको जानकारी दिए । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण वस्तुगत संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निर्वाचनमा सक्रिय सहयोग गर्न हार्दिक अपिल गरे ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज, नियमित र व्यवस्थित बनाउन निगम निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो ।

सो अवसरमा नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट एलपी ग्यास आयातलाई दीर्घकालीन, सुरक्षित र लागत प्रभावी बनाउने उपायका रूपमा पाइपलाइन विस्तार आवश्यक रहेकोमा जोड दिए ।

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगको संस्थागत सुदृढीकरण, आपूर्ति प्रणालीको सुधार तथा निजी क्षेत्रको जिम्मेवार भूमिकाका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

Share News