काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपाल अन्तर्गत दुई महत्त्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ ।
साथै सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।
सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजीबाट मर्मत गरिने जानकारी दिए ।
उनका अनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ, त्यससम्बन्धी सम्झौता आदानप्रदान पनि गरिएको छ । यो सम्झौता २ वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ ।
बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने खड्काले बताए । विष्टका अनुसार धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ।
विष्टले ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरू अघि बढेको समेत बताए । उनका अनुसार २ वर्ष ४ महिना बितिसकेकाले बाँकी अवधिमा परियोजनाहरू सकिनेछ ।
एमसीए नेपालले समयमै परियोजनाहरू सकिने बताए पनि आयोजनाहरूको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ ।