काठमाडौं । बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ ।
छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो ।
छुनुमुनुका अध्यक्ष युवा रंगकर्मी राजन भुजेलले आ(आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए ।
यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए ।
सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे ।
अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रंगकर्मी शर्माले उन्नत समाजमा सधैं कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।
नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा वालवालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे ।
कार्यक्रममा छुनुमुनुको १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए । उनीहरूलाई कोर्ष पुरा गरेको अवसरमा दीक्षान्त प्रमाण पत्र प्रदान गरिएको थियो ।
