काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक उचाइ छोएको छ । लगातार बढ्दो क्रममा रहेको सुनको भाउ आज एकैदिन ३ हजार ४ सय रुपैयाँले उकालो लाग्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँ पुग्दै उच्चतम स्तरमा पुगेको थियो । सोमबारको मूल्यले त्यो रेकर्डसमेत तोडेको छ ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँमा पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, भू-राजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले नेपाली बजारमा सुन-चाँदीको मूल्यलाई नयाँ उचाइमा पुर्याएको विश्लेषण गरिएको छ ।