गगन थापाले गरे १५औँ महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौं–४ बाट निर्वाचित नेताकार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले आफू सभापतिमा लड्ने मात्र नभई सभापति बन्ने स्पष्ट दाबीसमेत गरेका हुन् ।

काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै थापाले पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, 'म अहिले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु ।' उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्वको दौड औपचारिक रूपमा सुरु भएको संकेतका रूपमा हेरिएको छ ।

महामन्त्री थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै संगठनलाई जनमुखी र समयअनुकूल बनाउने आफ्नो लक्ष्य रहेको बताए । कांग्रेसलाई पुराना अभ्यासबाट मुक्त गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार अघि बढाउन आफू तयार रहेको उनको भनाइ छ । उनले पार्टीभित्र देखिएका गुटबन्दी, असन्तुष्टि र कार्यकर्ताको मनोबल घट्ने अवस्थालाई अन्त्य गर्न नेतृत्वले स्पष्ट दिशा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले थापाको घोषणालाई सकारात्मक रूपमा लिँदै नेतृत्वका लागि उनको सक्रियताले पार्टीमा नयाँ ऊर्जा थप्ने प्रतिक्रिया दिएका छन् । पछिल्लो समय कांग्रेसभित्र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर नेतृत्वको आकांक्षा राख्न थालिएका बेला महामन्त्री थापाको यो घोषणाले राजनीतिक तरङ्ग पैदा गरेको छ ।

अर्को प्रसङ्गमा थापाले पार्टी सभापति देउवाले कांग्रेसको राम्रो बाटोमा पानी खनाएको आरोपसमेत लगाएका छन् । उनले भने, 'असोजमै महाधिवेशनको निर्णय गरेको भए हामीले यतिबेलासम्म महाधिवेशन गरिसकेका हुन्थ्यौँ ।' तर सग्लो बाटोमा पानी खनाएर हिलो बनाउँदै गाडी कुदाउन नसकेको आरोप लगाउनु गलत भएको बताए ।  

 

Share News