नेप्सेको ८५ प्रतिशत लाभांश घोषणा, पुस २९ गते डाक्यो सेयरधनी भेला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न नेप्सेले पुस २९ गते ४४औँ वार्षिक साधारण सभा नेप्से युएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । 

नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्नेछ । 

साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ । 

नेप्सेले आर्थिक वर्ष २०८०/८१ मा ७५ प्रतिशतका दरले ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६४ प्रतिशतका दरले ६४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ सय प्रतिशतका दरले १ अर्ब रुपैयाँ लाभांश वितरण गरेको थियो । 

Share News