काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेलको पहिलो निर्णयप्रति कर्मचारीहरू असन्तुष्ट बनेका छन् । आइतबार कार्यभार सम्हाल्दै उनले कार्यालय सहयोगी तथा सरसफाइकर्मीको नियुक्ति अधिकार कटौती गर्नुका साथै उनीहरूले पाउँदै आएको सेवासुविधा घटाउने निर्णय गरेका हुन् ।
संस्थाले यसअघि करार तथा बाह्य स्रोतबाट कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०८१ बमोजिम कार्यालय सहयोगी तथा सरसफाइकर्मीलाई बाह्य स्रोतबाट नियुक्त गरी काममा लगाउँदै आएको थियो । तर नवनियुक्त सीईओ पौडेलले उनीहरूको काम गर्ने समय, पारिश्रमिक तथा नियुक्तिसम्बन्धी अधिकारमा कटौती गरेका छन् ।
सीईओ पौडेलले सबै शाखा कार्यालयलाई पत्र जारी गर्दै करार अवधि समाप्त भएपछि पुनः नियुक्ति गर्दा घाटामा रहेका शाखा कार्यालयहरूले करारमा नभई दैनिक आधारमा बिहान २ देखि ३ घण्टामात्र काममा लगाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । यस्ता शाखाले कारोबारको आकार र कार्यबोझको आधारमा अधिकतम १० हजार रुपैयाँसम्मको पारिश्रमिकमा सरसफाइकर्मी नियुक्त गर्नुपर्नेछ ।
त्यसैगरी, नाफामा रहेका शाखा कार्यालयहरूले आंशिक समय कार्य गर्ने गरी कार्यालय सहयोगी नियुक्त गर्न सक्नेछन्, जसको अधिकतम पारिश्रमिक १४ हजार रुपैयाँ तोकिएको छ ।
‘सरसफाइको लागि नियुक्त भएका व्यक्ति कर्मचारीको रुपमा नभई सरसफाइकर्मीको रुपमा नियुक्त गरिने हुँदा सरसफाइ बापत भएको खर्चलाई सरसफाइ शीर्षकमा शाखा कार्यालयबाट खर्च जनाउनुपर्नेछ,’ सीईओ पौडेलले जारी गरेको निर्देशनमा उल्लेख छ, ‘कार्यालय सहयोगीको रुपमा नियुक्त भएका कार्यालय सहयोगीहरुको तलब नियमानुसार केन्द्रीय कार्यालयबाट भुक्तानी हुनेछ । सरसफाइ खर्च शीर्षकमा भुक्तानी भएको रकम निजको आम्दानी भएकोले सो बापतको आयकर नियमानुसार कट्टा गरि मासिक रुपमा लेखा तथा वित्त व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।’

नियुक्ति गर्दा हाल कार्यरत कार्यालय सहयोगीलाई प्राथमिकतामा राख्न शाखा कार्यालयलाई निर्देशन दिइए पनि उक्त निर्णयले सयौं कर्मचारीको रोजगारी जोखिममा परेको लघुवित्त स्रोतको दाबी छ । हाल संस्थामा कार्यरत कार्यालय सहयोगी तथा सरसफाइकर्मीहरूले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक साढे १८ हजार रुपैयाँ र अन्य सुविधा गरी २० हजारको हाराहारीमा तलब सुविधा पाउँदै आएका छन् ।
संस्थाका अनुसार लघुवित्तका २२५ शाखा, ७ प्रादेशिक कार्यालय र एक केन्द्रीय कार्यालय गरी करिब २३५ जना कार्यालय सहयोगी कार्यरत छन् । न्यून पारिश्रमिकमा आजको समयमा काम गर्न सम्भव नरहेको संस्थाका कर्मचारीहरू नै बताउँछन् । पहिलो निर्णयबाटै सयौं कर्मचारीको रोजीरोटी खोस्ने काम भएको लघुवित्त स्रोतले बतायो ।
‘आजको दिनमा यति थोरै रकममा कोही पनि काम गर्दैनन् । लघुवित्तमा कुल २३५ जना कार्यालय सहयोगी रहेका छन् । तर, पहिलो निर्णयले उहाँहरूको रोजीरोटी खोस्ने काम गरिएको छ,’ लघुवित्त स्रोतले भन्यो ।
उनका अनुसार कार्यालय सहयोगीको खर्च कटौती गरेर संस्थाको लागत उल्लेख्य रूपमा घट्दैन । बरु अन्य ठूला प्रशासनिक खर्चमा ध्यान दिनुपर्ने उनको सुझाव छ । शाखा कार्यालयमा कार्यालय सहयोगी अनिवार्य हुने व्यवस्था रहेको र अन्य कर्मचारी सरुवा भइरहे पनि कार्यालय सहयोगी दीर्घकालसम्म कार्यरत रहने भएकाले शाखासम्बन्धी सम्पूर्ण जानकारी उनीहरूसँग रहने उनको भनाइ छ ।