काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनोहरा दोभान, युएन पार्कर मनोहरा नदीको कर्मनाशा दोभानमा एक–एक स्थान गरी जम्मा छ ठाँउमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम भइरहेको छ ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरू रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनको कारण ठूलो मात्रामा फोहोर बगिरहेको पाइन्छ । यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ, जसले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुर्याउँछ ।
ट्रास बेरियरबाट संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउँछ ।
नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।