कर्णालीबाट विदेश जानेको सङ्ख्या बढ्दै, वार्षिक ३० हजारले लिन्छन् श्रम स्वीकृति

काठमाडौं । कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट ६ हजार ९६७ पुरुष र ६२० महिला गरी ७ हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् । 

त्यसैगरी, सुर्खेतका ५ हजार ८९ पुरुष र ५६८ महिलासहित ६ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।

दैलेखका ३ हजार ९६५ पुरुष र ३२३ महिला गरी ४ हजार २८८, रुकुमपश्चिमका २ हजार ८५९, जाजरकोटका २ हजार ५१८, कालिकोटका १ हजार २५, जुम्लाका १ हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ ।

पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिक वैदेशिक रोजगारीमा जाने चलन बढेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाको जोड छ ।

सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमल बहादुर रोकायाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको उनले जानकारी दिए । 

वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने उनको सुझाव छ । पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको बताए । साथै उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सबै कुरा थाहा पाएर मात्र जानुपर्ने उनको सुझाव छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिए । 

Share News