१० करोड लागतमा उद्योग सञ्चालन, ५ सय टन किबी खपत क्षमता

गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

काठमाडौं । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका-२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौंबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड लागत रुपैयाँमा ५ सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।

ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी नबिक्ने समस्या छ । तर, अहिले वाइन बनाउन उद्योगले ती सबै किबी खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिए ।

७ वर्ष अघिबाट १० रोपनीमा किबी खेती गर्दै आएका गुरुङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिए । हाल प्रतिकिलो ५० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा उद्योगलाई किबी बेच्दै आएका गुरुङले किबीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी नभएसम्म किसान मर्कामा परिरहेको हुँदा प्रत्यक्ष अनुदान दिएर किसानलाई राहत दिनुपर्ने माग गरे । 

त्यसैगरी, विगत १५ वर्षअघि तोरीबारी गाउँमा ३० रोपनीमा किबी खेती गर्दै आएका तिलबहादुर पौडेलले उद्योग स्थापनाले बजारको समस्या समाधान भएको बताए । ‘भाउ तलमाथि त्यस्तै हो तर उद्योग सञ्चालनमा आएपछि ठूलो राहत भएको छ,’ उनले भने । 

उद्योग स्थापनाले सो गाउँका ७० भन्दा बढी किसान लाभान्वित भएको उनको दाबी छ । वार्षिक १५ लाख रुपैयाँसम्मको किबी बेच्दै आएका पौडेलले उद्योग बनेपछि काठमाडौं, विराटनगर, झापालगायत स्थानमा किबी बेच्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

नगरको यस वडालाई छ वर्षअघि किबी पकेट क्षेत्र घोषणा गरेपछि वडाका तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए । किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब एक सय किबी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले बताए ।

विसं २०७४ देखि एक सय रोपनीमा किबी खेतीसहित वसन्तपुर तीनजुरे बेभ्रेज प्रालिमार्फत आउने माघबाट ‘तीनजुरे बगान’ नामक किबी वाइन ल्याउने तयारी पूरा भएको उद्योग सञ्चालक दुर्गामणि पौडेलले बताए । यो वर्ष आठदेखि १० टन किबी खपत सुरु गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशभरिका ५० टन किबी खपत गर्ने उनको भनाइ छ । 

Share News