एमालेको नयाँ केन्द्रीय कमिटीलाई पूर्व राष्ट्रपति भण्डारीको बधाई

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । उनले प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण भएको उल्लेख गर्दै यसले जनताको बहुदलीय जनवाद (जबज) लाई अझ जीवन्त बनाएको बताएकी छन् ।

भण्डारीले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै विचार, नीति र नेतृत्व चयनमा प्रतिस्पर्धा हुनु पार्टीलाई थप सबल र जनमुखी बनाउने प्रक्रिया भएको धारणा राखिन् । उनले लोकतान्त्रिक मूल्यमान्यता, संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत एमालेले देशको समृद्धि र स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै भण्डारीले पार्टी एकता, आन्तरिक सुदृढीकरण र जनताको अपेक्षा पूरा गर्न नेतृत्वले सामूहिक रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले एमालेले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा निरन्तर अग्रसर रहनुपर्नेमा जोड दिइन् ।
 

Share News