वाम एकताको सन्देश दिन नेपाली कम्युनिस्ट पार्टीले भृकुटीमण्डपमा जनसभा गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आज शनिबार राजधानी काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ।

पार्टीका नेता निलकण्ठ तिवारीका अनुसार काठमाडौंको भृकुटीमण्डपमा शनिबार दिउँसो १२ बजेबाट ‘एकता सन्देश सभा’ सुरू हुनेछ। उक्त कार्यक्रम बागमती प्रदेश कमिटीको नेतृत्वमा सम्पर्क समन्वय कमिटी तथा विशेष प्रदेश कमिटीको संयुक्त आयोजनामा हुन लागेको हो।

सभाअघि पार्टीका नेता तथा कार्यकर्ताहरू काठमाडौंका विभिन्न क्षेत्रबाट र्याली निकाल्दै भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन् । विभिन्न स्थानबाट निस्कने र्यालीहरू भृकुटीमण्डपमा पुगेर एकीकृत रूपमा सभामा परिणत हुने तिवारिले जानकारी दिए ।

एकता सन्देश सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। साथै सह संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, वाम आन्दोलनको भविष्य र पार्टी एकताको आवश्यकताबारे धारणा राख्ने तिवारीले जानकारी दिए ।

नेकपाले यो सभामार्फत पार्टीभित्रको एकता, सहकार्य र जनमुखी राजनीतिको सन्देश देशभर प्रवाह गर्ने अपेक्षा गरेको छ। आयोजकले व्यापक सहभागिताका लागि नेता कार्यकर्ता तथा समर्थकहरूलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।
 

Share News