काठमाडौं । नेकपा एमालेको ११औं र केन्द्रीय समितिमा निर्वाचित हुनेहरूमध्ये सर्वाधिक मत प्राप्त गर्ने उत्कृष्ट १० जनामा ५ जना महिला नेतृ रहेका छन् ।
एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचनमा प्रतीक्षा तिवारी, ज्वालाकुमारी साह, भगवती चौधरी, निरु दर्लामी र प्रभा बरालले थुप्रै पुरुष सदस्यहरूलाई माथ गर्दै उत्कृष्ट पाँचौं स्थानसम्म महिलाहरूकै नाम लेखाउन सफल भएका हुन् ।
यो राजनीतिक चेतनामा आएको परिवर्तनको संकेत भएको एमाले सम्बद्ध महिलाहरूको धारणा रहेको छ ।
प्राप्त मत परिणामअनुसार प्रतीक्षा तिवारीले केन्द्रीय कमिटी सदस्य पदमा २ हजार १२० मत ल्याउँदै आफूलाई टप र्याङ्कमा उभ्याउन सफल भएकी छन् । तिवारी मात्रै होइन, टप र्याङ्कको दोस्रो तहमा पनि महिला नै छन् । पूर्वमन्त्रीसमेत रहेकी ज्वालाकुमारी साहले तिवारीलाई पछ्याएकी छन् । साहले २ हजार ४४ मत ल्याएकी छन् ।
गत आम निर्वाचनमा नेपाली कांग्रेसका भेट्रान उम्मेदवार विजयकुमार गच्छेदारलाई पराजित गरेकी भगवती चौधरीले पनि २ हजार ४४ मत ल्याएर टप टेनको तेस्रो र्याङ्क सुरक्षित गरेकी छन् ।
निरु दर्लामीले २ हजार ५ मत कटाएकी छन् । प्रभा बरालले २ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
केन्द्रीय सदस्यमा महिला नेताहरूले प्राप्त गरेको मतले एमालेको तल्लो तहदेखि महाधिवेशन प्रतिनिधिसम्म महिला नेतृहरूलाई सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा स्वीकार गरिएको दाबी एमालेका महिला नेताहरुको छ ।
यसअघिका महाधिवेशनहरूमा महिला प्रतिनिधित्व मुख्यतः कोटा वा समावेशिताको विषयमा सीमित देखिन्थ्यो भने यसपटक मत परिणामले प्रतिस्पर्धात्मक लोकप्रियता प्रमाणित गरेको एमाले सम्पर्क समन्वय कमिटी सदस्य गीता बराल बताउँछिन् ।
अर्की नेता शारदा अर्याल मतपरिणाम केवल कोटामात्र नभई जनआधार समेत भएको बताउँछिन् ।
‘शीर्ष मत पाउनेहरू महिला हुनुले एमालेभित्र महिला नेतृत्व अब कोटाका आधारमा होइन, जनाआधार र सक्रिय राजनीतिक भूमिकाका आधारमा अघि बढिरहेको संकेत गर्छ,’ उनले भनिन् ।
पुस्तान्तरण र राजनीतिक शैलीमा आएको बदलावको रूपमा बुझेको बताउँछिन् अर्की नेता शितल पाण्डे ।
‘उहाँहरुको उदयले पार्टीभित्र नयाँ पुस्ताको राजनीतिक शैली मजबुत बन्दै गएको देखिन्छ, ’ उनी भन्छिन् ।
परम्परागत गुटीय राजनीतिभन्दा बाहिर रहेर संगठन विस्तार, सामाजिक मुद्दा र जनसम्पर्कमा केन्द्रित नेतृत्वले महाधिवेशन प्रतिनिधिको समर्थन पाएको बुझाइ पाण्डेको छ । यसले एमालेभित्र आगामी दिनमा नीति र नेतृत्व दुवै तहमा व्यवहारिक र जनमुखी राजनीति बलियो बन्ने संकेत गरेको बरालको दाबी छ ।
महाधिवेशन प्रतिनिधि तथा लुम्बिनीकी नेता ललिता गौतम नीति निर्माणमा महिलाको प्रभाव बढ्ने संकेत पाएको बताउँछिन् ।
केन्द्रीय समितिमा उच्च मतसहित महिला नेतृहरूको उपस्थितिले पार्टीका नीति, कार्यक्रम र निर्णय प्रक्रियामा महिलाको प्रभाव उल्लेख्य रूपमा बढ्ने अपेक्षा उनको छ ।
रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासका मुद्दाहरू पार्टी एजेन्डामा अझ सशक्त रूपमा उठ्ने सम्भावना रहेको उनको अनुमान छ ।
एमाले नेपालको प्रमुख राजनीतिक दलमध्ये एक भएकाले महाधिवेशनको यो परिणामले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक सन्देश दिएको बरालको दाबी छ । महिला नेतृत्वलाई मतका आधारमा अघि बढाउन सकिने उदाहरणले अन्य दलहरूमा पनि आन्तरिक लोकतन्त्र र समावेशी नेतृत्व विकासमा दबाब सिर्जना गर्ने विश्लेषण बरालको छ ।
एमालेको ११औं महाधिवेशनबाट आएको यो मतपरिणामले पार्टीभित्र महिला नेतृहरूको भूमिका अब सहायक होइन, केन्द्रीय र निर्णायक तहमा प्रवेश गरिसकेको अर्यालको दाबी छ ।