नेकपाको एकता सन्देश सभा भोलि हुने, २ घण्टामै सक्ने तयारी

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा पुष ५ गते काठमाडौंमा हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका कम्युनिष्ट घटकको एकीकरणपछि नवगठित उक्त दलले देशैभर एकता सभा गर्दै आएको छ । 

पार्टीको उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश सम्र्पक कमिटीको आयोजनामा एकता सन्देश सभा गर्न लागिएको नेपाली कम्युनिष्ट पार्टीका नेता नीलकण्ठ तिवारीले जानकारी दिए । 

उनका अनुसार विभिन्न जिल्लाबाट सहभागी हुने जनसमुदाय भोलि बिहान ११ बजे काठमाडौंका विभिन्न स्थानमा भेला भई भृकुटीमण्डपतर्फ जुलुससहित आउने कार्यक्रम रहेको छ ।

काठमाडौंको पश्चिमी भेगअन्तर्गत नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिका तथा निर्वाचन क्षेत्र नं ८, ९ र १० बाट आउने सहभागीहरू सुन्धारामा जम्मा भएर जुलुसमा परिणत हुने तिवारीले जानकारी दिए ।

चितवन र धादिङबाट नागढुंगा नाका हुँदै तथा मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा जम्मा भएर जुलुसमा परीणत हुने तिवारीले जानकारी दिए ।

ललितपुरबाट कुपन्डोलमा भेला भई थापाथली र त्रिपुरेश्वर हुँदै आउने जुलुस पनि सोही समयमा सुन्धारामा पुग्नेछ । त्यसपछि जुलुस रत्नपार्क नेपाल विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्ने उनले बताए ।

त्यसैगरी, काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा, क्षेत्र नम्वर ५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने सहभागीहरू बिहान ११ बजे रत्नपार्कमा भेला भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुग्ने तिवारीले जानकारी दिए ।

बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहराबाट आउने सहभागीहरू डिल्लीबजार चारखालमा बिहान ११ बजे भेला भई शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् ।

त्यस्तै, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बबरमहलमा बिहान ११ बजे जम्मा भई भद्रकाली चोक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।

विभिन्न स्थानबाट र्यालीसहित आएका जुलुसहरू रत्नपार्क, भद्रकाली र पद्मोदय मोडतर्फबाट तोकिएको स्थानमा व्यवस्थित रूपमा राखिने तिवारीले जनाएका छन् ।

जुलुस ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टामा सम्पन्न हुने जनाइएको छ ।

Share News