भुजुङ्ग हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरको ६० प्रतिशत अर्थात् ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दा र बाँकी ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दालाई छुट्याइएको कम्पनीले जनाएको छ । 

साथै सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाले आईपीओमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका-४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा र भुजुङ्ग हाइड्रोको काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।

Share News