एमाले महाधिवेशन: केहीबेरमै मतगणना सुरु हुने

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको मतदान सम्पन्न भएको केहीबेरमै मतगणना सुरु हुने भएको छ । मतदान सम्पन्न भएसँगै अहिले मुचुल्का उठाउने र विद्युतीय भोटिङ मेसिनलाई सिलबन्दी गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २२७ मत खसेको छ । ३६ जना मतदाताले मतदान नगरेको उनले जानकारी दिए। उनका अनुसार मतदान प्रतिशत ९८.४ प्रतिशत रहेको छ ।

मतदान पूर्वका सबै प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको र अब केही बेरमै मतगणना सुरु गरिने आयोगले जनाएको छ। 

सचिव लामाका अनुसार मतगणना प्रक्रिया छिटो टुंग्याउने तयारी गरिएको छ । आयोगको अनुमानअनुसार बिहिबार बिहान ९ बजेसम्म अन्तिम परिणाम सार्वजनिक हुने छ। 

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । 

Share News