काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्व चयनमा सहमतिको वातावरण निर्माण गर्न आफू प्रयासरत रहेको बताएका छन् ।
बिहीबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘दबाब र भेदभाव बिना सहमति खोजिन्छ, नभए लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन हुनेछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिहरूले नचाहे आफू अध्यक्ष पदबाट हट्न पनि तयार रहेको बताए । तर प्रतिनिधिहरूले निरन्तरता दिन चाहे त्यसका लागि पनि आफू सकारात्मक रहने उनको भनाइ थियो ।
उनले भने, ‘एमालेमा महाधिवेशन प्रतिनिधिहरू सार्वभौम छन् । सार्वभौम प्रतिनिधिहरूको निर्णय र विवेक नै अन्तिम हुन्छ ।’
११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा नेता ईश्वर पोखरेलले गरेको घोषणाबारे सम्पादकहरूले जिज्ञासा राख्दा ओलीले भने– मलाई यसबारे जानकारी भएन ।
‘बाहिर-बाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको भनाइलाई कसरी बुझ्ने ?,’ ओलीले थपे ।
एमालेको महाधिवेशन नजिकिँदै गर्दा शीर्ष नेताहरूबीचको दौडधूप तीव्र बन्दै गएका बेला ओलीको यस अभिव्यक्तिलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।