काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालको ‘पेन डाउन कार्यक्रम’ फिर्ता भएको छ ।
बुधबार भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि पेन डाउन कार्यक्रम फिर्ता भएको हो ।
यससँगै भन्सार जाँचपासको काम आजैदेखि सुरु भएको छ ।
विभागले जारी गरेको विज्ञप्तिमा भन्सार एजेन्टका विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेश गरिएकामा व्यवस्थापन सुधार गर्ने, विभागरकार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने तथा नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषय अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय गरिएको जनाइएको छ ।
महासंघले पेन डाउन कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने उद्योगी व्यवसायी संघसंस्थाहरूप्रति आभार प्रकटसमेत गरेको छ ।
मंगलबार देशभरका भन्सार कार्यालयहरूमा पेन डाउनसहित विरोधमा उत्रिएपछि भन्सार विभागले वार्तामा बोलाएको थियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र महासंका प्रतिनिधिहरूबीच वार्ता भए पनि बिना निष्कर्ष टुंगिएको थियो ।
महासंघले भन्सार ऐन, २०८२ प्रति आपत्ति जनाउँदै विरोधमा उत्रिएको हो । जसले गर्दा देशैभरका भन्सार जाँचपास ठप्प भएको थियो ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्याउने वातावरण सिर्जना भएपछि महासंघ विरोधमा उत्रिएको हो।
महासंघले आइतबार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो ।