काठमाडौं । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा दुवै चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
पार्टीको क्षेत्र नं २ ले मंगलबार आयोजना गरेको सिफारिस बैठकमा उनले राजनीतिक पुस्तान्तरण अब अनिवार्य भएको भन्दै आफू सक्रिय चुनावी प्रतिस्पर्धाबाट हट्ने निर्णय गरेको जनाएका हुन् ।
अधिकारीले भने, ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको छ । अब म चुनावी प्रतिस्पर्धामा रहने छैन, संगठन सुदृढीकरण र मार्गदर्शनको भूमिकामा रहनेछु ।’
जेनजी आन्दोलनपछि सबैभन्दा पहिले राजीनामा दिने मन्त्रीको रूपमा चर्चित अधिकारीले पार्टीभित्र नयाँ अनुहार उदाउने वातावरण बनोस् भन्ने उद्देश्यसहित उम्मेदवारी त्याग गरेको जनाएका छन् ।
उनको यस घोषणाले धादिङसहित कांग्रेसभित्र आगामी उम्मेदवार चयनमा महत्त्वपूर्ण प्रभाव पर्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्