काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल तथा जेनजीको सहभागितासहित सर्वपक्षीय सम्मेलन आयोजना गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा राप्रपाद्वारा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले देश गम्भीर राजनीतिक संकटतर्फ धकेलिन सक्ने संकेत देखिएको दाबी गरे ।
ध्रुवीकरण भएको शक्तिलाई एउटै टेबलमा ल्याएर सहमतिको बाटो निकाल्नुपर्नेमा अध्यक्ष लिङ्देनको जोड छ ।
राष्ट्रिय सहमतिबिना मुलुकले राजनीतिक स्थिरता, आर्थिक विकास र संविधान कार्यान्वयनका अवरोध पार गर्न नसक्ने भएकाले प्रधानमन्त्रीले पहल गरेर सर्वपक्षीय सम्मेलन बोलाउनुपर्ने उनले बताए ।
लिङ्देनले वर्तमान सत्ता संघर्ष, दलहरूबीचको अविश्वास र जनताको बढ्दो असन्तुष्टिलाई औंल्याउँदै राजा, राजनीतिक दल र समाजका विभिन्न प्रतिनिधि मिलेर मात्र मुलुकको स्थायी समाधान खोज्न सकिने बताएका हुन् ।