काठमाडौं । नेकपा एमालेका महिला नेतृहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्मानजनक बहिर्गमनको समय आएको बताएका छन् । पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा महिला नेतृहरूले उक्त दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै एमालेकी केन्द्रीय सदस्य रचना खड्काले एमालेभित्र व्यापक चुनौती रहेको बताएकी छन् । ती चुनौतीको सामना गर्न अध्यक्ष ओलीले सम्मानजनक बिदाइ लिनुपर्ने उनको धारणा रहेको छ ।
खड्काले भनिन्, ‘अध्यक्ष ओलीले देश, पार्टी र जनताका लागि असाध्यै धेरै राम्रा काम गर्नु भएको छ । अब त्यसभन्दा उन्नत काम गर्ने नयाँ नेतृत्व स्थापित गर्दै उहाँ सबैको अभिभावक भएर बस्नुपर्छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै अर्की केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले एमालेबाट पुरानो पुस्ताले बिदा लिएर पार्टी नेतृत्व गर्ने जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने बताइन् ।