एमाले महाधिवेशन : पदाधिकारीमा बागमतीका १६ नेताको दाबेदारी, अध्यक्षदेखि सचिवसम्म कडा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा बागमती प्रदेशका नेताहरूले केन्द्रीय पदाधिकारीका कुल पदाधिकारीभन्दा धेरै पदमा दाबेदारी प्रस्तुत गर्ने तयारी गरेका छन् । 

विधानअनुसार १५ सदस्यीय पदाधिकारी संरचनामा १६ नेता बागमतीकै आकांक्षी पुगेपछि महाधिवेशनमा शक्ति सन्तुलन, नेतृत्व संयोजन र आन्तरिक प्रतिस्पर्धा झन् रोचक बन्दै जाने देखिएको छ । 

महाधिवेशनले निर्वाचित गर्ने पदाधिकारीमा बागमती प्रदेशको सशक्त दाबी रहने नेताहरूले बताएका छन् । पार्टी विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ, तर तीमध्ये बागमती प्रदेशका मात्रै १६ जना नेताले पदाधिकारीमा दाबी गर्ने तयारी गरेको बुझिएको छ ।

बागमती प्रदेशले सम्भवतः पदाधिकारीका लगभग सबै पदमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको प्रदेशका एक प्रभावशाली नेताले जानकारी दिए । पार्टीको अध्यक्ष पदमा बहालवाला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । पोखरेल काठमाडौंका नेता हुन् ।

त्यस्तै, चितवनका बहालवाला उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट महासचिव पद सम्हाल्ने तयारी गरेका छन् । पाण्डे २०७१ असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग ७ मतले पराजित भएका थिए ।

काठमाडौंका दुई रैथाने नेता बहालवाला उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले पनि उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छन्।

यसैबीच हाल संगठन विभाग प्रमुख रहेका चितवनका काशीनाथ अधिकारी पनि महासचिवका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् । यस्तै, दशौं महाधिवेशनबाट स्थायी समिति सदस्य बनेका शेरबहादुर तामाङले आफूलाई उपमहासचिव पदका प्रबल दावेदारका रूपमा उभ्याएका छन् ।

सचिवमा धेरै आकांक्षी

महाधिवेशनमा सबैभन्दा धेरै आकांक्षा सचिव पदमा देखिएको छ । पार्टी पदाधिकारीमा प्रवेशको पहिलो खुड्किलो मानिने सचिव पदमा बागमती प्रदेशका १० जनाले दाबी पेश गरेका छन् । तीमध्ये २ महिला र ८ पुरुष रहेका छन् । पुरुषमध्ये एकजना जनजाति नेता हुन् भने बाँकी ७ जना ब्राह्मण–क्षेत्री समुदायका नेता रहेका छन् ।

सचिव पदका दावेदारहरू आनन्द पोखरेल, राजन भट्टराई, माधव ढुंगेल, गोकुल बास्कोटा, महेश बस्नेत, अरुण नेपाल, बृन्दा पाण्डे, रचना खड्का, पार्वत गुरुङ र महेश बर्तौला रहेका छन् ।

सचिवका जम्बो आकांक्षीमध्ये बृन्दा पाण्डे र रचना खड्का बाहेक सबै पुरुष हुन् ।

५० वर्षभन्दा कम उमेरका तीन दावेदार

महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिने बागमतीका पदाधिकारी आकांक्षीमध्ये तीनजना मात्र ५० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । अनेरास्ववियु पृष्ठभूमिबाट पार्टी 

नेतृत्वमा उदाएका माधव ढुंगेल, महेश बर्तौला र रचना खड्का युवा दाबेदार हुन् ।

अखिलमा ढुंगेलले अध्यक्ष, बर्तौलाले उपाध्यक्ष र खड्काले सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । ढुंगेल हाल ४८ वर्षका छन् भने बर्तौला र खड्का ४५ वर्षका हुन्।

महाधिवेशनका लागि निर्वाचित भएका मध्ये ४ सय प्रतिनिधि ४० वर्षभन्दा तल्लो उमेर समूहका रहेको संगठन विभागका सचिवसमेत रहेका ढुंगेलले बताए । यस्तै, ५० वर्षभन्दा तल्लो उमेर समुहका १२ सय प्रतिनिधि रहेको उनले जानकारी दिए ।

Share News