धौलागिरी लघुवित्तको सीईओमा शिवराम जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी करिब दुई दशकदेखि लघुवित्त क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी बैंकर हुन् । उनले २०६३ चैतबाट छिमेक लघुवित्तमा फिल्ड सहायकका रूपमा लघुवित्त सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६६ सालमा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभागमा तथा २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभाग प्रमुखका रूपमा कार्य गरेका थिए ।

त्यसपछि उनले २०७५ साउनदेखि २०७६ मंसिर २२ गतेसम्म कालिका लघुवित्त वित्तीय संस्थामा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । जोशी २०७६ मंसिर २५ गतेदेखि धौलागिरी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए भने २०८१ मंसिर १७ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सञ्चालक समितिले जोशीको नेतृत्वमा संस्थाले नियामकीय निर्देशनको पूर्ण पालना गर्दै सेवाग्राहीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने तथा सेयरधनीलाई उचित प्रतिफल दिन सफल हुने विश्वास व्यक्त गरेको छ ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै जोशीले मुलुककै पुराना र प्रतिष्ठित लघुवित्त संस्थामध्ये एकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउँदा गर्व र जिम्मेवारीबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा सन्तुलित व्यापार विस्तार, ग्राहक सेवा थप सुदृढीकरण, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिन प्रतिबद्ध रहने बताए ।

साथै, संस्थाको ब्रान्ड, नेटवर्क र बजार उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्यका साथ काम गर्ने उल्लेख गर्दै उनले आफूलाई सीईओमा नियुक्त गर्ने सञ्चालक समितिप्रति धन्यवाद तथा आभार व्यक्त गरे ।

कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन तथा मर्जर व्यवस्थापनलगायत लघुवित्तको कार्यकारिणी तहमा अनुभव हासिल गरिसकेका जोशीलाई लघुवित्त क्षेत्रमा अब्बल बैंकरका रूपमा चिनिन्छ ।

Share News