टिग नास आईटी एक्सपो सम्पन्न, प्रविधि र अवसरबीचको पुल निर्माणमा जोड

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) द्वारा आयोजित ‘टिग नास आईटी एक्सपो २०२५’ सम्पन्न भएको छ । कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनसम्म चलेको प्रदर्शनीमा स्वदेशी प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि र सेवाहरू प्रस्तुत गरेका थिए ।

नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार एक्स्पोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा बलियो सन्देश दिएको छ । उनले भने, 'एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं । यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापना गरेको छ ।'

दुई दिन चलेको एक्स्पोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थी र प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । नास आईटीका अनुसार दुई दिनको अवधिमा २५०० भन्दा बढी अवलोकक उपस्थित भएका थिए ।

स्वदेशी प्रविधि र सेवाको प्रवर्द्धनका लागि आयोजना गरिएको यो एक्स्पोलाई नेपालकै ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनीका रूपमा लिइएको छ । प्रदर्शनीमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवामा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरण प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्र मार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू पनि प्रस्तुत गरेका थिए ।

सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसाय प्रवर्द्धन र अवसर विस्तारमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने प्रतिबद्धता जनाएको छ ।

नास आईटीका अनुसार एक्स्पोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने माइलस्टोनका रूपमा आफूलाई स्थापित गरेको छ ।

Share News