व्यापार युद्धको बीचमा ट्रम्प–जिनपिङ भेट : सम्झौता वा अर्को टकराव ?

ट्रम्प–जिनपिङ वार्ताबाट विश्व अर्थतन्त्रको दिशा तय हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता एसिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने भएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार सम्झौता खोज्ने प्रयास भइरहेका बेला यो भेट वार्ता–तनाव घटाउने प्रयासको रूपमा हेरिएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै भनिन्, ‘राष्ट्रपति ट्रम्पले अक्टोबर ३० मा एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी जिनपिङसँग भेट्नेछन् ।’

ट्रम्पले त्यसपछि’मलाई लाग्छ हामी राम्रो परिणाम निकाल्नेछौं र सबैजना खुसी हुनेछन्’ भन्दै उनले आफ्नो आगामी भेटप्रति आशावादी प्रतिक्रिया दिए ।

दक्षिण कोरियाका राष्ट्रपति सुरक्षा सल्लाहकार वी सुङ–लकले पनि बिहीबार ट्रम्प र जिनपिङ दुबैको एपीईसी शिखर सम्मेलनमा सहभागी हुने राज्य भ्रमणको पुष्टि गरे । यद्यपि चीनले यसबारे आधिकारिक रूपमा वक्तव्य जारी गरेको छैन ।

यो ट्रम्पले जनवरीमा पुनः पदभार ग्रहण गरेपछि दुवै राष्ट्रप्रमुखबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ । उनीहरूले यसअघि यस वर्ष दुई पटक फोन वार्ता गरेका थिए भने अन्तिम पटक २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा प्रत्यक्ष भेट गरेका थिए ।

यो उच्चस्तरीय भेट नोभेम्बर १० मा समाप्त हुने व्यापार युद्धविराम पुनः विस्तार गर्ने वा नगर्ने निर्णायक क्षणमा भइरहेको हो । ट्रम्पले यसअघि नै नोभेम्बर १ लाई चीनमाथि थप १०० प्रतिशत शुल्क लगाउने म्याद तोकेका छन् ।

हालैका हप्ताहरूमा दुबै देशबीचका सम्बन्ध पुनः तनावग्रस्त भएका छन् — बन्दरगाह शुल्क, निर्यात नियन्त्रण र दुर्लभ धातु व्यापारमा कडाइका कारण । साथै कृषि खरिद, फेन्टानिल (एक घातक नशा पदार्थ) र ताइवानजस्ता भू–राजनीतिक विषयले पनि विवादलाई थप चर्काइरहेका छन् ।

‘यो उच्च जोखिम र उच्च फाइदाको बैठक हुनेछ,’ ग्लोबल परामर्श कम्पनी द एसिया ग्रुपका चीन निर्देशक हान सेन लिनले भने, ‘दुबै पक्षले सम्बन्धमा ‘रिसेट बटन’ थिच्ने प्रयास गर्नेछन्, तर कुनै ठूलो सम्झौता घोषणाबाट टाढा रहन चाहनेछन्।’

लिनका अनुसार दुवै पक्षले व्यापक व्यापार सम्झौता होइन, बरु वार्ता पुनः सुरु गर्ने सहमति गर्न सक्छन् किनकि ‘गहिरा संरचनागत विवादहरू अझै समाधान भएका छैनन् र सम्भवतः कहिल्यै नहुने पनि हुन सक्छ ।’

ट्रम्पले आइतबार एयर फोर्स वनमा पत्रकारहरूलाई बताएअनुसार दुर्लभ धातु, फेन्टानिल, सोयाबिन र ताइवान चीनसँगका प्रमुख वार्ता विषय हुनेछन् । ताइवानका वरिष्ठ कूटनीतिक अधिकृतले भने, ‘हामी वाशिङ्टनसँग नजिक सम्पर्कमा छौं र ट्रम्प–सी भेटको नजिक निगरानी गर्नेछौं ।’

चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार चीनको आर्थिक योजनासम्बन्धी पत्रकार सम्मेलनमा भने, ‘अमेरिका र चीनले छुट्टिने होइन, कुरा गर्ने र सँगै काम गर्ने बाटो फेला पार्न सक्छन् ।’

यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार जनायो कि उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल यस हप्ता मलेसियामा अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टसँग व्यापार र आर्थिक विषयमा वार्ता गर्नेछ ।

तनाव घट्ने संकेत ?

हालैको हप्तामा वाशिङ्टन र बेइजिङबीच पुनः तनाव बढ्दै गएको छ, दुवै पक्ष आगामी निर्णायक वार्ताको तयारी गर्दैछन् । तर ट्रम्प–सी भेटको पुष्टि भएको तथ्यले वार्ता पुनः पटरीमा ल्याउने इच्छा देखाएको विश्लेषकहरूको भनाइ छ ।

राजनीतिक परामर्श संस्था युरासिया ग्रुपका चीन निर्देशक ड्यान वाङका अनुसार, ‘यो भेट चीनले केही रियायतहरू दिने संकेत हो — जस्तै अमेरिकी कृषि खरिद, लगानी प्रतिबद्धता र दुर्लभ धातु निर्यात स्वीकृति — जबकि अमेरिका पनि प्राविधिक प्रतिबन्धमा केही सहजता ल्याउन सक्नेछ ।’

यसअघि अक्टोबरको सुरुमा चीनले दुर्लभ धातु र प्रविधिमा निर्यात नियन्त्रण कडा गरेको थियो, जसको जवाफमा ट्रम्पले चिनियाँ वस्तुमा थप १०० प्रतिशत शुल्कको धम्की दिएका थिए । अमेरिकी ट्रेजरी सचिव बेसन्टले चीनको कदमलाई ‘विश्व अर्थतन्त्र कमजोर पार्ने प्रयास’ भन्दै आलोचना गरेका थिए ।

ट्रम्प प्रशासन चीनले पहिलो कार्यकालमा गरिएको व्यापार सम्झौताको प्रावधान पूरा नगरेको आरोपमा नयाँ व्यापार अनुसन्धान सुरु गर्ने तयारीमा पनि रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार यो अनुसन्धान शुक्रबार नै घोषणा हुनसक्छ, जसले थप चिनियाँ वस्तुमा शुल्क लगाउने बाटो खोल्नेछ ।

अक्टोबरको सुरुतिर ट्रम्पले चीनको निर्यात नियन्त्रणका कारण सीसँगको भेट रद्द गर्ने विचार प्रकट गरेका थिए, तर पछिल्ला दिनहरूमा उनले आफ्नो स्वर नर्म पारेका छन् र जिनपिङसँगको ‘उत्कृष्ट सम्बन्ध’ भएको बताउँदै ‘राम्रो व्यापार सम्झौता हुने’ विश्वास व्यक्त गरेका छन् ।

ट्रम्पले बुधबार भनेका थिए, ‘मसँग दक्षिण कोरियामा जिनपिङसँग लामो बैठक तय भएको छ । म सोयाबिन खरिद र आणविक हतियार नियन्त्रणबारे सम्झौता हुने अपेक्षा गर्छु ।’

चीनले पछिल्ला वर्षहरूमा अमेरिकी प्रविधि प्रतिबन्धको सामना गर्दै आगामी पाँच वर्षभित्र प्राविधिक आत्मनिर्भरता बढाउने प्रतिबद्धता जनाएको छ । कम्युनिस्ट पार्टीले बिहीबार सार्वजनिक गरेको नयाँ आर्थिक नीतिमा यसलाई प्राथमिकता दिएको छ ।

चिनियाँ नेताहरूले शुक्रबारको पत्रकार सम्मेलनमा भने, ‘बाह्य चुनौतीहरू जटिल छन्, त्यसैले अमेरिका–निर्भरता घटाउँदै आफ्नै प्रविधि क्षमतामा अडिन जरुरी छ ।’

सल्लाहकार कम्पनी टेनेओका प्रबन्ध निर्देशक ग्याब्रियल विल्डाउका अनुसार ‘बेइजिङ अहिले यस्तो सम्झौता गर्न तयार छैन जुन उसकै लक्ष्य अनुसार नहोस, जबकि ट्रम्पले पनि १०० प्रतिशत शुल्क कार्यान्वयन टार्न चाहान सक्छन् ।’

हालैको तनावबीच पनि आगामी ट्रम्प–सी भेटले दुई देशबीच केही ‘शान्त वातावरण’ ल्याउने अपेक्षा गरिएको छ, जसले २०२६ सुरुमा सम्भावित व्यापार सम्झौताका लागि बाटो तयार गर्न सक्छ ।

ट्रम्पले अक्टोबर २७ मा जापानकी नयाँ प्रधानमन्त्री सानेई ताकाइचीसँग भेट गर्न टोकियो प्रस्थान गर्नेछन्, त्यसपछि उनी दक्षिण कोरिया पुग्ने कार्यक्रम छ ।

अमेरिकाको ऋण ३८ ट्रिलियन डलर नाघ्यो

सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट

रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू
 

Share News