काठमाडौं । नेपाल टेलिकमले मनाङको प्रसिद्ध पदयात्रा र पर्यटन क्षेत्र तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस (बेस ट्रान्सीभर स्टेशन) स्थापना गरी टुजी र फोरजी मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ ।
करिब ४ हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा विस्तार गरेको हो ।
यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती क्षेत्रका स्थानीय बासिन्दा, पदयात्री र व्यवसायीहरू अब सजिलै सञ्चार सम्पर्कमा रहन सक्ने भएका छन् ।
टेलिकम सेवाको विस्तारपछि उक्त क्षेत्रका पर्यटन, होटल र व्यवसायिक सेवा प्रदायकहरूले डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन सजिलो हुने भएको छ । साथै पदयात्राका क्रममा स्वास्थ्य समस्या परेमा आपतकालीन उद्धार कार्यमा पनि नेपाल टेलिकमको सेवा जीवनरक्षक हुने स्थानीयवासीहरूको विश्वास रहेको छ ।
यसै क्रममा नेपाल टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सुरु गरेको छ । सो सेवा मिति असोज २८ गतेदेखि भी–एसएटी प्रविधिमार्फत सुचारु गरिएको हो ।
समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा अवस्थित नागाउँ साइटबाट च्छो–रोल्पा, बेदिङ–ना, दूधकुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्प लगायतका क्षेत्रका स्थानीय तथा पर्यटकहरूले अब सहज सञ्चार सम्पर्क गर्न पाउनेछन्।
उच्च उचाइ, कठोर मौसम र जनशक्ति अभावबीच पनि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरूले गरेको अथक प्रयासका कारण दुर्गम हिमाली क्षेत्रमा आधुनिक सञ्चार सेवा विस्तार सम्भव भएको हो ।
नेपाल टेलिकमले भविष्यमा पनि देशका अन्य दुर्गम पर्यटन र सीमावर्ती क्षेत्रमा आधुनिक प्रविधियुक्त सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।