बल्ल झुल्किए सभामुख

पूर्वप्रधानमन्त्रीहरु अझै अनुपस्थित

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार विस्तार हुने क्रम जारी छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि संसद विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । प्रधानमन्त्री कार्कीले 
भदौ २७ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरिन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहणमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरूलगायत व्यक्तित्वहरू सहभागी हुने संस्कार र संस्कृति भएपनि भदौ २७ गते राति साढे ९ बजे भएको कार्कीको शपथ ग्रहणमा भने बेग्लै चित्र देखियो । 

कार्कीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक अन्यको सहभागिता देखिएन । 

null

कार्कीले आफू प्रधानमन्त्री बनेपछि भदौ ३० गते मन्त्रिमण्डल विस्तार गरिन् । भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री  कुलमान घिसिङ तथा  गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ ग्रहण गरे । 

तीन मन्त्रीहरूको शपथ ग्रहणमा प्रधानमन्त्रीको सपथ ग्रहणमा उपस्थित भएका व्यक्तिव्यहरूबाहेक अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रह्यो । सो शपथ ग्रहण कार्यक्रममा सहभागी हुनै पर्ने सभामुख देवराज घिमिरे कार्कीको शपथ ग्रहणमा झैं अनुपस्थित नै रहे ।

null

सोमबार (असोज ६) गते थप चार मन्त्रीले सपथ लिएका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले सोमबार मन्त्रीको शपथ लिएका हुन् । 

सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको सपथ लिएका छन् ।

आजका मन्त्रीहरूको शपथमा भने सभामुख घिमिरे सहभागी बनेका छन् । यसअघिका दुई शपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित रहेका थिए ।

null

सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपछि यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायधीश राउत, सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभा अध्यक्ष दाहाल उपस्थित भएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरूको समेत सहभागी हुनुपर्ने संस्कार बस्दै आएको छ । तर, अन्तरिम सरकारको  प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा भने डा. भट्टराई बाहेक कुनै पनि पूर्व प्रधानमन्त्रीहरूको सहभागिता देखिएको छैन । 

शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीको सहभागिता अनिवार्यजस्तै रहन्छ । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बहिस्कार जस्तै गरेका छन् ।  

Share News