१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे

काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ । 

यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो ।

बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो ।

बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो  ।

२०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो।

सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो ।

बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् ।

उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन ।

टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ ।

बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ । 

रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ ।

विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् ।

बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।

बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए ।

हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् । 

साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ ।

संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ ।

हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !
 

Share News