काठमाडौं । अमेरिका र चीनबीच सामाजिक सञ्जाल प्लेटफर्म टिकटकका लागि एउटा ‘फ्रेमवर्क’ सम्झौता भएको अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले सोमबार बताएका छन् ।
‘यो दुई निजी पक्षबीचको कुरा हो, तर वाणिज्यिक सर्तहरूमा सहमति भइसकेको छ,’ उनले मड्रिडमा भएको अमेरिका-चीन वार्ताबाट भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सर्तहरूबारे छलफल गर्नेछन् । ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेख्दै भनेका छन् कि एक यस्तो कम्पनीबारे सम्झौता भएको छ ‘जसलाई हाम्रो मुलुकका युवाहरू अत्यन्तै बचाउन चाहन्थे ।’
बेस्सेन्टका अनुसार यो फ्रेमवर्कले टिकटकलाई अमेरिकी स्वामित्वमा लैजाने सम्भावना छ ।
टिकटकले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
रोयटर्सका अनुसार चिनियाँ प्रमुख व्यापार वार्ताकार ली चेंगगाङले पनि फ्रेमवर्क सम्झौता भएको पुष्टि गर्दै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाउने काम रोक्नुपर्ने बताएका छन् ।
यी टिप्पणीहरू अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ताको क्रममा आएका हुन् । पछिल्ला महिनाहरूमा ट्रम्पका ट्यारिफ र अन्य व्यापारिक प्रतिबन्धका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएको छ ।
यहीबीच टिकटकको आमा कम्पनी बाइटडान्सलाई सेप्टेम्बर १७ सम्म अमेरिकी कारोबार बेच्न वा अमेरिकामा बन्द हुने जोखिम मोल्नुपर्ने समयसीमा तोकिएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार भनेका छन् कि सम्झौता हस्ताक्षर गर्न समयसीमा केही पछाडि सारिन सक्नेछ तर निरन्तर म्याद थपिँदैन ।
गत वर्ष अमेरिकी कांग्रेसले एप्पल र गुगल जस्ता एप स्टोर सञ्चालकहरूलाई अमेरिकामा टिकटक वितरण गर्न रोक लगाउने कानून पारित गरेको थियो, किनकि यसलाई ‘विदेशी प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेको एप्लिकेशन’ मानिएको थियो ।
तर ट्रम्पले जनवरीमा टिकटक बन्द गर्ने निर्णय स्थगित गर्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसले बाइटडान्सलाई सम्झौता गर्न ७५ दिन थप समय दिएको थियो । थप समय विस्तारका लागि अप्रिल र जुनमा पनि कार्यकारी आदेश जारी गरिएका थिए ।
अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले जुलाईमा भनेका थिए कि यदि चीनले अमेरिकालाई यो लोकप्रिय छोटो भिडियो एपमा बढी स्वतन्त्रता नदिए टिकटक अमेरिकामा बन्द हुनेछ ।
प्लेटफर्मलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा ट्रम्पले जुनमा फक्स न्युजलाई बताएका थिए कि उनका साथमा ‘धेरै धनी व्यक्तिहरूको समूह’ तयार छ जसले यो एप किन्न सक्छ र उनीहरूको नाम दुई हप्तामा खुलासा गर्न सकिनेछ । तर त्यो खुलासा कहिल्यै भएन ।
ट्रम्पले यसअघि पनि भनेका थिए कि उनी ओराकलका अध्यक्ष ल्यारी एलिसन वा टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा टिकटक किन्ने पक्षमा खुला छन् । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप पर्पलेक्सिटी र व्यापारी फ्र्याङ्क म्याककोर्टको प्रोजेक्ट लिबर्टी इन्टरनेट एडभोकेसी समूहले पनि खरिदका लागि प्रस्ताव बुझाएका छन् ।
ट्रम्पले गत वर्ष सीएनबीसीलाई दिएको अन्तर्वार्तामा टिकटकलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा व्याख्या गरेका थिए, यद्यपि ह्वाइट हाउसले अगस्टमा आधिकारिक टिकटक खाता सुरु गरेको छ ।
मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा
इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज
चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक
गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति