हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ ।

एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ ।

नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।'

एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Share News