काठमाडौं । ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ,’ एक हजार दरको नोटको मध्य मागमा उल्लेखित शब्द हुन् । नोटमा राष्ट्र बैंकका गभर्नरको पनि हस्ताक्षर छ । राष्ट्र बैंकले नोट जारी गर्दा प्रयोग हुने कागज पनि सही छ । नोटमा प्रयोग भएका विभिन्न किसिमका संकेतसहित पनि ठीक छन् ।
तर, नोट भने नक्कली हो । किनभने एउटै नोटमा फरक-फरक सिरियल नम्बर छन् । नोटको दायाँ भागमा सिरियल नम्बर ग ६१-३१६२६४ र बाँया भागमा ग ६२-४७२०६६ पनि उल्लेख छ । जेनजी आन्दोलनपछि एउटै नोटमा फरक-फरक सिरियल नम्बर रहेका नोटहरू बजारमा भेटिन थालेका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता र निजी क्षेत्रका संरचनामा क्षति पुर्याए । विभिन्न माध्यममा सार्वजनिक भएका भिडियो र फोटोहरूलाई आधार मान्दा त्यहाँ राष्ट्र बैंकले जारी गरेका विभिन्न दरका नोटहरूमा पनि क्षति पुग्यो । केही नोटहरू जलेका छन् भने केही नोटमा आंशिक क्षति पुगेको छ ।
तर, अहिले आंशिक क्षति भएका नोटहरूलाई संकलन गरेर जोडेर बजारमा कारोबार गरिरहेको भेटिएका छन् । आधी-आधी (केही भाग मात्रै) जलेका नोटहरूलाई एक आपसमा टाँसेर बजारमा चलनचल्तीमा ल्याइरहेकाले सजग रहन बैंकहरूले आग्रह गरेका छन् ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आंशिक क्षति भएका नोटहरूलाई जोडेर बजारमा चलनचल्तीमा ल्याइरहेको बताउँछन् । बजारमा कारोबार भइरहेका त्यस्ता नोटहरू बैंकमा समेत आउने तर डिटेक्टर मेसिनले समेत पहिचान गर्न नमिल्ने भएकाले नगद कारोबार गर्दा सजग रहन उनले आग्रह गरे । |

उनका अनुसार फरक-फरक सिरियल नम्बर भएका नोटलाई जोडेर पसलमा चलनचल्तीमा ल्याइरहेको र विस्तारै त्यस्ता नोटहरू बैंकमा समेत आइपुग्ने जाेखिम छ ।
‘नोट आधी मात्रै छ । आधी मात्रै जलेको वा क्षति भएको नोटमा अर्काे आधी जलेको वा क्षति भएको नोट टाँसेको छ । यस्ता नोट ठूल्ठूला बन्डलमा हाल्दा एउटै जस्तै देखिन्छन्,’ उनले भने, ‘बैंकको नोट डिटेक्टरले गन्दा फेक नोट आईडिन्टीफाई (पहिचान) गर्छ । तर, बैंकको फेक नोट डिटेक्टरले समेत यस्ता नोट पहिचान गर्न सक्दैनन् । किनभने नोटको कागज ओरिजिनल छ ।’
यस्ता जोडिएका नोटहरू सक्कली नोट भनेर बजारमा कारोबार भइरहेकाले सिरियल नम्बर जाँच गरेर मात्रै कारोबार गर्न सीईओ खनालले आग्रह गरे । आन्दोलनमा परेर वा अन्य कुनै कारण जलेका वा च्यातिएका नोट संकलन गरेर जोडेर चलाउने काम भइरहेको उनले बताए । यस्ता नोट बैंकको डिटेक्टरले समेत पत्ता लगाउन नसक्ने गरी बनाइएका हुने उनको भनाइ छ ।
‘यस्ता नोट बैंकमा आइसकेको छैनन् । तर, यस्ता नोट बैंकमा आउन सक्ने सम्भावना छ । साथै बजारमा भने पसल-पसलमा यस्ता नोट कारोबार भइरहेका देखिन्छन् । त्यसैले नगद कारोबार गर्दा नोट भेरिफाई गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ,’ सीईओ खनालले भने ।
जेनजी आन्दोलनपछि यस्ता नक्कली नोटको बिगबिगी बढेकाले यस्ता नोटहरू जाँच गरेर मात्रै कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बजारमा एउटै नोटमा फरक-फरक सिरियल नम्बर भए/नभएको जाँच गरेर मात्रै नगद कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।