काठमाडौं । भायनेटले इन्टरनेट र भीआइए टिभी सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा नपुगे पनि अधिकांश ग्राहकले प्रयोग गर्न थालेका छन् ।
भायनेटले आइतबार २९ भदौभित्र सम्पूर्ण सर्भर अर्को डाटा सेन्टरमा सारिसकेपछि सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा व्यक्त गरेको छ । अहिले भने केही प्रयोगकर्ताले इन्टरनेट गति स्लो भएको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको भायनेट कस्टमर मोबाइल एप पुनः सुचारु भइसकेको छ भने कल सेन्टर पनि बढाइएको क्षमतासहित सञ्चालनमा आएको छ। यसले ग्राहकलाई छिटो सहयोग गर्न सहज हुने कम्पनीको दाबी छ ।
भायनेटका फाइबर टेक्निसियनहरूले हालैका घटनाका कारण बिग्रिएका अधिकांश फाइबर लाइन मर्मत गरिसकेको र केही बाँकी काम निरन्तर भइरहेको जनाएको छ ।
कम्पनीले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको भन्दै यो उपलब्धिले आफ्नो नेटवर्कको मजबुती र टिमको समर्पणलाई पुष्टि गरेको जनाएको छ । यस अनुभवले भविष्यमा सेवा अवरुद्ध हुने जोखिम न्यून पार्न प्रणाली अझ बलियो बनाउन प्रेरणा मिलेको कम्पनीको भनाइ छ ।
भायनेटले पछिल्ला केही दिनमा ग्राहकले देखाएको धैर्य, बुझाइ र विश्वासप्रति आभार व्यक्त गर्दै विश्वसनीय र गुणस्तरीय सेवा दिन निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।