आगलागीले डाटा सेन्टर प्रभावित, भायानेटको सेवा अवरुद्ध

काठमाडौं । भायानेटले हालै इन्टरनेट र भीआइए टिभी सेवामा आएको अवरोधका कारण ग्राहकसँग माफी मागेको छ ।

कम्पनीका अनुसार गत भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको थियो । 

भायानेटका अनुसार ब्याकअप डाटा सेन्टरहरू भए पनि प्रमुख संरचना गुमाउँदा सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न नसक्दा देशभर सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोली तत्काल खटिए पनि भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको र ब्याकअपमार्फत आंशिक रूपमा मात्र इन्टरनेट चलाइएको कम्पनीले जनाएको छ ।

भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोलीले भवनभित्र प्रवेश गरी आवश्यक सर्भरहरू सुरक्षित रूपमा निकालेर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताइएको छ।

भायानेटका अनुसार प्राविधिक टोलीको प्रयासका कारण अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । अवरुद्ध ‘भीआइए टिभी’ सेवा पनि चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

भायानेटले ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि आभार प्रकट गर्दै यस घटनाबाट नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ ।

Share News