सामाजिक सञ्जालसम्बन्धी निर्देशनप्रति नास-आईटीको चिन्ता, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास–आईटी) ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी हालको निर्देशन र केही प्ल्याटफर्ममा लगाइएको पूर्ण प्रतिबन्धले नेपालको आईटी क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

नास–आईटीका अनुसार, यस कदमले नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने आईटी कम्पनीहरूको दैनिक कामकाजमा अवरोध पुगेको छ । ग्राहकहरूसँगको सञ्चार पूर्णरूपमा अवरुद्ध हुँदा परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यापार व्यवसाय जोखिममा परेको संघको भनाइ छ ।

'नेपालको विश्व आईटी बजारमा बढ्दो अवसर र सकारात्मक छवि कायम राख्न, दैनिक सेवा सम्प्रेषणलाई सहज बनाउन र व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन यस्ता सञ्चार माध्यमको अविच्छिन्न पहुँच अपरिहार्य हुन्छ,' नास–आईटीले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघले सुरक्षित र जिम्मेवार डिजिटल वातावरण बनाउन सरकारले लिएको पहलप्रति समर्थन जनाउँदै, सेवा पूर्णरूपमा अवरुद्ध नगरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

Share News